spot_img

हिन्दुस्तान टाइम्समा रवि लामिछानेको लेख: ‘नाराभन्दा प्रमाणमा आधारित समाधान आवश्यक’

spot_img
spot_img

काठमाडौं,१९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक बहसभन्दा माथि उठाएर विकास, लगानी र आर्थिक सहकार्यतर्फ केन्द्रित गर्नुपर्ने बताएका छन्। भारत भ्रमणका क्रममा उनले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा प्रकाशित लेखमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

लामिछानेले ‘विकास कूटनीति’लाई प्राथमिकतामा राख्दै कूटनीतिक संयन्त्रलाई लगानी, व्यापार र आर्थिक सहकार्यको प्रभावकारी माध्यम बनाउनुपर्ने उल्लेख गरेका छन्। नेपालको जलविद्युत् सम्भावनालाई भारतको बढ्दो ऊर्जा आवश्यकतासँग जोड्दै क्षेत्रीय ऊर्जा बजार निर्माणको आवश्यकता पनि उनले औंल्याएका छन्।

सीमापार व्यापारमा रहेका प्रशासनिक झन्झट हटाउन डिजिटल प्रविधियुक्त एकीकृत जाँच चौकी (आईसीपी) र आधुनिक पारवहन करिडोर विकास गर्नुपर्ने उनको सुझाव छ। साथै, जनकपुर, लुम्बिनी, बोधगया र हिमाली क्षेत्रलाई समेटेर साझा पर्यटन सर्किट निर्माण गर्न सके अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सकिने उनले बताएका छन्।

खेलकुद सहकार्य विस्तारको सन्दर्भमा उनले नेपाली खेलाडी र रंगशालालाई भारतीय प्रिमियर लिग (आईपीएल) जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितासँग जोड्ने सम्भावनाबारे पनि संकेत गरेका छन्।

उनले कृषि, स्वास्थ्य, साइबर सुरक्षा र विपद् व्यवस्थापनमा सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि आपसी विश्वासको वातावरण अपरिहार्य रहेको बताएका छन्। नेपाल–भारतबीचका विवादहरू समाधान गर्दा उग्र राष्ट्रवादभन्दा प्रमाणमा आधारित संवाद र समझदारी अपनाउनुपर्ने उनको जोड छ।

लामिछानेका अनुसार आर्थिक रूपमा सबल र राजनीतिक रूपमा स्थिर नेपाल भारतका लागि पनि रणनीतिक रूपमा महत्त्वपूर्ण हुन्छ। उनले वर्तमान समयलाई द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा चित्रण गरेका छन्।

साथै, उनले सन् २०१४ मा नरेन्द्र मोदीले नेपालको संसदमा दिएको सम्बोधन स्मरण गर्दै दुई देशबीच विश्वास, सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई पुनर्जीवित गर्नुपर्ने बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय