काठमाडौं,१९ जेठ । सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपाल–भारत सीमा विवादसम्बन्धी विषयमा प्रधानमन्त्री बालेन शाहले संसदमा व्यक्त गरेको धारणा नै सरकारको आधिकारिक र सत्य धारणा भएको बताएका छन्। साथै, आवश्यक परे प्रधानमन्त्री फेरि संसदमा उपस्थित भएर यस विषयमा थप स्पष्टीकरण दिन तयार रहेको उनले स्पष्ट पारे।
सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्री संसदप्रति उत्तरदायी रहेको उल्लेख गरे। उनले भने, “प्रधानमन्त्रीले केही दिनअघि सदनमा उपस्थित भएर आफ्नो धारणा राखिसक्नुभएको छ। आवश्यकता परे उहाँ पुनः सदनमा आएर जवाफ दिनुहुन्छ।”
गत जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको केही भूभाग उपयोग गरिरहेको हुन सक्ने अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा व्यापक बहस र आलोचना सुरु भएको थियो।
प्रवक्ता पोखरेलका अनुसार प्रधानमन्त्रीले उठाएको विषय नेपाल–भारत सीमा अध्ययन तथा विवाद समाधानका लागि गठित द्विपक्षीय संयन्त्रबाट प्राप्त तथ्यका आधारमा आएको हो। उनका अनुसार केही क्षेत्रमा भारतले प्रयोग गरिरहेको भूमि नेपालतर्फ पर्न सक्ने र नेपालले प्रयोग गरिरहेको भूमि भारततर्फ पर्न सक्ने सम्भावनाबारे प्रधानमन्त्रीले संकेत गरेका थिए।
पोखरेलले सीमा विवाद समाधानका लागि दुवै देशबीच स्थापित कूटनीतिक संयन्त्र सक्रिय रहेको र संवादमार्फत समाधान खोजिने बताए। उनले नेपाल र भारत दुवैले यस विषयमा कूटनीतिक नोट आदान–प्रदान गरिसकेको जानकारी दिँदै सीमा सम्बन्धी सबै विवाद आपसी सहमति र संवादबाट टुंग्याउने प्रक्रिया अगाडि बढिरहेको बताए।
सरकारले सीमा विवादजस्तो संवेदनशील विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिबद्धता दोहोर्याउँदै आएको छ।




