काठमाडाैं,१९ जेठ । अमेरिकी डलरसहित चिगैरकानुनी रूपमा क्रिप्टोकरेन्सीको कारोबार र डिजिटल ठगी गरेको आरोपमा चितवनमा एक चिकित्सक पक्राउ परेका छन्।
प्रहरीले २९ वर्षीय डा. पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा कोठा भाडामा लिएर बस्दै आएका यादव धनुषाको हंशपुर नगरपालिका–४ का स्थायी बासिन्दा हुन्। उनी भरतपुरको एक अस्पतालमा कार्यरत रहेको बताइएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा यादवले प्रतिबन्धित मानिएका बाइनान्स र बाइविटजस्ता एप प्रयोग गरी अवैध क्रिप्टोकरेन्सी कारोबार तथा डिजिटल ठगी गरेको देखिएको छ।
उनको मोबाइल तथा अन्य विद्युतीय उपकरणको विश्लेषणपछि ठगीको नेटवर्कबारे थप विवरण खुल्दै गएको प्रहरीको भनाइ छ। प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवका अनुसार पीडित र ठगी रकमबारे अनुसन्धान जारी छ।




