काठमाडौं,१९ जेठ । नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय सेवा प्रदायकलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
राष्ट्र बैंकले जारी गरेको वित्तीय चेतनामूलक सन्देशमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेटजस्ता सेवा ग्राहकको दर्ता गरिएको मोबाइल नम्बर र इमेलसँग प्रत्यक्ष रूपमा जोडिएको हुने उल्लेख गरिएको छ।
केन्द्रीय बैंकका अनुसार मोबाइल नम्बर परिवर्तन वा हराएमा समयमै अद्यावधिक नगरिएमा अनधिकृत व्यक्तिले संवेदनशील वित्तीय विवरणमा पहुँच पाउने जोखिम रहने भएकाले सतर्क रहन आवश्यक छ।
राष्ट्र बैंकले आफ्नै नाममा दर्ता गरिएको सिमकार्ड र आधिकारिक एप्लिकेसन मात्र प्रयोग गर्न पनि सुझाव दिएको छ। साथै, मोबाइल बैंकिङ तथा डिजिटल भुक्तानी प्रयोग गर्दा सुरक्षा अभ्यासलाई कडाइका साथ अपनाउन आग्रह गरिएको छ।
वित्तीय सेवासम्बन्धी समस्या वा गुनासोका लागि राष्ट्र बैंकले अनलाइन गुनासो पोर्टलमार्फत पनि सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।




