बीरगन्ज,१९ जेठ। रौतहटको देवाही गोनाही नगरपालिका–४ मा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वडा नम्बर–४ नदिपारी टोल निवासी बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षा कुमारी पटेल रहेको प्रहरीले जनाएको छ। मंगलबार बिहान आफ्नै घरको धारामा नुहाउने क्रममा उनलाई करेन्ट लागेको थियो।
प्रहरीका अनुसार धारासँग जडान गरिएको मोटरको विद्युत् लाइनबाट करेन्ट लागेपछि गम्भीर घाइते भएकी वर्षालाई उपचारका लागि सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल लगिएको थियो। तर, अस्पतालमा चिकित्सकले जाँचका क्रममा उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।




