spot_img

विश्व वातावरण दिवसमा बीरगन्जमा साइकल र्‍याली

spot_img
spot_img

बीरगन्ज,२० जेठ । विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालको आयोजनामा तथा जीवन ज्योति स्कुलको सहकार्यमा बीरगन्जमा जनचेतनामूलक साइकल र्‍याली सम्पन्न भएको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन आयोजित र्‍यालीमार्फत वातावरण संरक्षण, प्रदूषण नियन्त्रण तथा हरित जीवनशैलीको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा भएको र्‍यालीमा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू, शिक्षक तथा कक्षा ९ र १० का करिब ५० जना विद्यार्थी सहभागी भएका थिए।

र्‍याली रानिघाटस्थित जीवन ज्योति स्कुलबाट सुरु भई घण्टाघर, बसपार्क, बाइपास रोड, नगवा, रेशमकोठी, मेनरोड, कैलाश होटल चोक, घडिअर्वा पोखरी र माइस्थानलगायतका क्षेत्रको परिक्रमा गर्दै पुनः विद्यालय परिसरमा पुगेर सम्पन्न भएको थियो।

कार्यक्रमको उद्घाटन प्रधानाध्यापक शिव गुप्ताले हरियो झण्डा देखाएर गरेका थिए। सो अवसरमा प्रहरी निरीक्षक युवराज कटुवालले वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै यसको संरक्षण प्रत्येक नागरिकको साझा जिम्मेवारी रहेको बताए। उनले स्वच्छ वातावरण निर्माणसँगै ट्राफिक नियमको पालनामा पनि विद्यार्थीहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे।

प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले “हरियो, सफा र स्वस्थ वीरगञ्ज”, “प्लास्टिकमुक्त बीरगन्ज” तथा “धरती बचाऔँ, वातावरण जोगाऔँ” भन्ने अभियानलाई निरन्तर अघि बढाउँदै आएको बताए। उनका अनुसार विश्व वातावरण दिवसको अवसरमा विगत केही दिनदेखि सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ भने साइकल र्‍यालीमार्फत वातावरण संरक्षणको सन्देशलाई थप प्रभावकारी रूपमा समुदायसम्म पुर्‍याउने प्रयास गरिएको हो।

उनले वातावरणीय सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन तथा प्रतिष्ठानका सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद ज्ञापन गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय