काठमाडौं,२० जेठ । देशभरका सरकारी अस्पतालमा लामो समयदेखि बिग्रिएर प्रयोगविहीन बनेका स्वास्थ्य उपकरणहरूलाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यले सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्यको पहल अघि बढाइएको छ।
यस विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच विशेष भेटवार्ता तथा छलफल भएको छ। छलफलमा सरकारी अस्पतालहरूमा मर्मत अभावका कारण थन्किएका स्वास्थ्य उपकरणहरूको अवस्था पहिचान गरी तिनलाई राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक सहयोगमा मर्मत गरेर पुनः प्रयोगमा ल्याउने विषयमा सहमति र समन्वयका सम्भावनाबारे विचार विमर्श गरिएको थियो।
सरकारी अस्पतालहरूमा आवश्यक उपकरणहरू बिग्रिएर लामो समयसम्म प्रयोगविहीन हुँदा स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर परेको छ। यस्तो अवस्थामा राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक दक्षता उपयोग गरी उपकरणहरूलाई पुनः सञ्चालनमा ल्याउन सके सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
यस पहलबाट राज्यको ठूलो लगानीमा खरिद गरिएका तर मर्मत अभावका कारण उपयोग हुन नसकेका स्वास्थ्य सामग्रीहरूको पुनः प्रयोग सम्भव हुने, अस्पतालहरूको कार्यक्षमता बढ्ने तथा सरकारी स्रोत–साधनको सदुपयोग हुने विश्वास गरिएको छ।
सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको यो प्रारम्भिक छलफलले स्वास्थ्य क्षेत्रको पूर्वाधार व्यवस्थापनलाई थप व्यवस्थित बनाउन तथा अस्पताल सेवाको गुणस्तर सुधार गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।




