काठमाडौं,२० जेठ । सरकारले स्थल मार्ग हुँदै नेपाल–भारत सीमा नाकाबाट आवतजावत गर्ने यात्रुहरूका लागि भन्सार छुटको सीमा बढाएको छ। नयाँ व्यवस्थाअनुसार अब यात्रुले निजी प्रयोगका लागि ५०० रुपैयाँसम्म मूल्यका सामान भन्सार महसुल बिना ल्याउन वा लैजान पाउने भएका छन्।
अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यसअघि लागू रहेको १०० रुपैयाँको सीमा बढाएर ५०० रुपैयाँ पुर्याएको जनाएको हो। पुरानो व्यवस्थाले सीमा क्षेत्रमा यात्रु र सुरक्षाकर्मीबीच बारम्बार विवाद तथा असन्तुष्टि उत्पन्न गरिरहेको अवस्थामा सरकारले केही सहजता प्रदान गर्ने उद्देश्यले नयाँ निर्णय गरेको बताइएको छ।
नयाँ नियमअनुसार सीमा नाकामा कार्यरत भन्सार प्रमुखले यात्रुले साथमा ल्याएका ५०० रुपैयाँसम्मका निजी प्रयोगका सामग्रीको प्रकृति र औचित्य मूल्याङ्कन गरी भन्सार महसुल नलिई प्रवेश अनुमति दिन सक्नेछन्।
यद्यपि, हवाई मार्गबाट नेपाल आउने यात्रुले पाउने भन्सार छुटको सुविधा र स्थल मार्गबाट आवतजावत गर्ने यात्रुलाई दिइने सुविधाबीचको भिन्नता भने यथावत् राखिएको छ।
सरकारको यो निर्णयलाई सीमा क्षेत्रका स्थानीय बासिन्दा तथा साना व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्। उनीहरूका अनुसार पुरानो १०० रुपैयाँको सीमा व्यवहारिक नभएकाले दैनिक आवतजावत गर्ने नागरिकलाई अनावश्यक झन्झट खेप्नुपरेको थियो।
यसैबीच, भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि विद्यमान सुविधा यथावत् रहने भएको छ। अध्ययनका क्रममा वा अध्ययन पूरा गरेर नेपाल फर्किने विद्यार्थीले आफ्नो प्रयोगका लागि ल्याएको एउटा कम्प्युटर वा ट्याबलेटमा भन्सार महसुल नतिर्नुपर्ने व्यवस्था कायम राखिएको छ।
गत वर्ष लागू गरिएको कडा भन्सार नियमप्रति सीमा क्षेत्रमा व्यापक असन्तुष्टि देखिएपछि तथा संसद्मा समेत यस विषयमा आवाज उठेपछि सरकारले नियम पुनरावलोकन गर्दै भन्सार छुटको सीमा बढाउने निर्णय गरेको हो। नयाँ व्यवस्थाले सीमा क्षेत्रका नागरिकलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।




