बीरगन्ज,२० जेठ । बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाले अभिभावकहरूलाई चार वटा निजी विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्न आग्रह गरेको छ। उपमहानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ती विद्यालयहरूलाई शैक्षिक व्यवस्थापन सूचना प्रणाली (EMIS) बाट हटाइएको जानकारी दिएको हो।
सूचना अनुसार वडा नं. ३ स्थित रोज एकेडमी, वडा नं. २ मा रहेको माउन्ट एभरेस्ट, वडा नं. ७ को अम्ब्रेला अंग्रेजी बोर्डिङ स्कुल र वडा नं. १९ को बाबुलाल एकेडमीमा भर्ना नगर्न भनिएको छ।
उपमहानगरपालिकाका अनुसार ती विद्यालयहरूलाई विभिन्न प्रशासनिक तथा शैक्षिक कारणले EMIS प्रणालीबाट हटाइएको हो। यससँगै, अभिभावकहरूलाई वैकल्पिक रूपमा दर्ता भएका र स्वीकृत विद्यालयहरूमा मात्रै भर्ना गर्न अनुरोध गरिएको छ।
उपमहानगरले यस निर्णयलाई बालबालिकाको शैक्षिक भविष्य सुरक्षित गर्ने उद्देश्यसहित लिइएको स्पष्ट पारेको छ।





