काठमाडौं,२० जेठ । बहालवाला तथा निवृत्त उपसचिव वा सोभन्दा माथिल्लो तहका कर्मचारीहरूको बढ्दो चाप व्यवस्थापन गर्न राष्ट्रिय किताबखाना (निजामती)ले अब कर्मचारीहरूको सम्पूर्ण तलबी विवरण अनलाइनमार्फत उपलब्ध गराउन थालेको छ।
सम्पत्ति छानबिन आयोगको सूचनापछि तलबी आम्दानीको विवरण लिन आउने सेवाग्राहीको भीड अत्यधिक बढेपछि किताबखानाले आफ्नो सेवा डिजिटल माध्यममा रूपान्तरण गरेको हो। यससँगै सेवाग्राहीले अब कार्यालयमा धाइरहनु नपर्ने भएको छ।
किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार ‘डिजिटल डकुमेन्ट एक्सेस सर्भिस’ सुरु भइसकेको छ। यसमार्फत कर्मचारीहरूले २०१७ सालदेखि हालसम्मको पद, तलब स्केल र ग्रेडसम्बन्धी सम्पूर्ण विवरण वेबसाइटमार्फत प्राप्त गर्न सक्छन्। साथै ‘तलब र ग्रेड सिट’ र गणना क्याल्कुलेटर पनि उपलब्ध गराइएको छ।
अब कर्मचारीहरूले भौतिक उपस्थितिविना दुई प्रमुख डिजिटल माध्यमबाट आफ्नो तलबी विवरण प्राप्त गर्न सक्नेछन्—
१. ह्वाट्सएप सेवा
सेवाग्राहीले ९७१४४९९२४० नम्बरमा आफ्नो नाम, पद र संकेत नम्बर पठाएर विवरण माग गर्न सक्नेछन्। प्राविधिक कारणले पठाइएको विवरण २४ घण्टाभित्र स्वतः मेटिने भएकाले समयमै हेर्नुपर्ने हुन्छ। यदि उक्त अवधिमा प्रतिक्रिया नआएमा पुनः अनुरोध गर्न सकिनेछ।
२. इमेल सेवा
सेवाग्राहीले [email protected] मा आफ्नो विवरण पठाएर पनि तलबी निस्सा प्राप्त गर्न सक्नेछन्। यो विधि केही झन्झटिलो भए पनि सुरक्षित, दिगो र विश्वसनीय मानिएको छ।
विभागले प्राविधिक समस्याका कारण कहिलेकाहीँ विवरणमा त्रुटि आउन सक्ने भएकाले वैकल्पिक रूपमा वेबसाइटमा उपलब्ध ‘तलब र ग्रेड सिट’ प्रयोग गरेर आफैं गणना गर्ने सुविधा पनि दिएको छ।
प्रविधिको प्रयोगमार्फत सेवालाई सहज, छरितो र झन्झटमुक्त बनाइएको जनाउँदै किताबखानाले सम्बन्धित सबै कर्मचारीहरूलाई अनलाइन सेवाको अधिकतम् उपयोग गर्न आग्रह गरेको छ।




