राैतहट,२० जेठ । रौतहटमा वन संरक्षणका लागि गस्तीमा खटिएको टोलीमाथि काठ तस्करहरूको समूहले आक्रमण गर्दा वन अधिकृतसहित पाँच जना घाइते भएका छन्।
सोमबार राति चन्द्रनिगाहपुर–मैरा सडकखण्डअन्तर्गत पर्ने पुल नजिकै काठ चोरी भइरहेको गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त टोली गस्तीमा निस्किएको थियो।
गस्ती टोली जङ्गल क्षेत्रमा पुग्ने बित्तिकै तस्कर समूहले चारैतिरबाट घेरा हालेर निर्घात कुटपिट गरेको जनाइएको छ। आक्रमणमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र विमल थापा तथा चालक अरविन्द पटेल घाइते भएका छन्।
रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष अशोक यादवका अनुसार गोप्य सूचनाको आधारमा टोली घटनास्थल पुगेको थियो, तर तस्कर समूहले योजनाबद्ध रूपमा आक्रमण गरेको हो।
घाइतेमध्ये गम्भीर अवस्थाका व्यक्तिहरूको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। घटनाप्रति वन कर्मचारी र स्थानीय उपभोक्ता समूहले कडा आपत्ति जनाउँदै दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्।




