काठमाडौं,२० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भेटमा नेपाल–भारत सम्बन्ध तथा साझा हितका विविध विषयमा छलफल भएको जनाइएको छ।
भेटका क्रममा प्रधानमन्त्री मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। उनले लामिछानेसँगको भेटप्रति खुशी व्यक्त गर्दै द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
भारत भ्रमणमा रहेका लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा भव्य स्वागत गरिएको थियो। भाजपाका अध्यक्ष नितिन नवीनले उनलाई स्वागत गरेका थिए।
यसैक्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ १८ गते भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो। प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री तथा सांसद विपीनकुमार आचार्य, सांसद दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।




