जनकपुर,२० जेठ । जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सचेत गराएको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले पछिल्लो समय केही खरिदकर्ताले सरकारले तोकेको मूल्यभन्दा कम दरमा धान खरिद गरी कृषकहरूलाई मर्कामा पारेको भन्ने जनगुनासो प्राप्त भएपछि सचेत गराएको जनाउनुभयो ।
उहाँले बुधबार एक सूचना जारी गर्दै कृषकहरूलाई बालीको उचित मूल्य सुनिश्चित गर्न तथा धानको बजार मूल्यमा स्थिरता कायम गर्ने उद्देश्यले नेपाल सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेको जनाउनुभयो ।
सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपियाँ तथा मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ८६० रुपियाँ तोकेको छ ।
सोही कारण “न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२” मा व्यवस्था भएअनुसार कानुनी प्रावधानको पूर्ण कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गरिएको छ ।
स्थानीय तहले न्यूनतम समर्थन मूल्यबारे जनचेतना फैलाउने, खरिद प्रक्रियामा सहजीकरण गर्ने, अनुगमन गर्ने तथा कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले निर्देशिकाविपरीत कार्य गर्ने वा कृषकलाई कम मूल्य दिई ठगी गर्ने खरिदकर्तामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने बताउनुभयो ।




