बीरगन्ज,२१ जेठ । वातावरण संरक्षण र हरित सहर निर्माण गर्ने उद्देश्यसहित ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरले बीरगन्जमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा आयोजित कार्यक्रममा करिब १०० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। कार्यक्रम ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिका रूपमा सहभागी थिए भने मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एसएसपी शान्तिराज कोइराला र जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्की विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए। साथै ट्राफिक प्रहरी, विभिन्न संघसंस्था, सामुदायिक प्रहरीका प्रतिनिधि तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रमुख जिल्ला अधिकारी दाहालले वातावरण संरक्षणका लागि वृक्षारोपणजस्ता अभियान अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै स्वच्छ, हरित र स्वस्थ वातावरण निर्माणमा सबै नागरिकको साझा जिम्मेवारी हुने बताए।
कार्यक्रमका अध्यक्ष खेतानले वातावरणीय सन्तुलन कायम राख्न र भावी पुस्ताका लागि हरियाली जोगाउन वृक्षारोपण अपरिहार्य रहेको बताए। उनले समुदाय र प्रहरीबीचको सहकार्यले यस्ता अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमअन्तर्गत फलफूल तथा छायाँ दिने विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। सहभागीहरूले वृक्षारोपणमार्फत वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन र स्वच्छ वातावरण निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन्।




