वीरगन्ज,२१ जेठ । वीरगन्जस्थित नारायणी अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेखनीय रूपमा बढेसँगै सेवा प्रवाहमा दबाब बढेको छ। विशेषगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार लिन आउने बिरामीको संख्या बढेपछि अस्पतालको भौतिक संरचना र व्यवस्थापनमा चुनौती थपिएको हो।
सरकारले आपतकालीन अवस्थाबाहेक निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवा स्थगित गरेपछि बीमित बिरामीहरू सरकारी अस्पतालतर्फ केन्द्रित भएका छन्। यसअघि बीमा सेवा दिँदै आएका वीरगन्जका निजी अस्पतालहरूले सेवा बन्द गरेपछि अधिकांश बिरामी नारायणी अस्पतालमै उपचारका लागि पुग्न थालेका हुन्।
अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार बीमित बिरामीको संख्या अचानक बढेपछि दैनिक सेवा व्यवस्थापनमा थप दबाब परेको छ। पहिले नै उच्च चाप रहेको अस्पतालमा अहिले बीमाका बिरामी थपिँदा अवस्था अझ जटिल बनेको उनले बताए।
सेवाग्राहीका अनुसार अस्पतालमा उपचार सेवा उपलब्ध भए पनि आवश्यक औषधिको अभावले समस्या बढाएको छ। अस्पताल फार्मेसी प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा धेरै बिरामी बाहिरबाट महँगो मूल्यमा औषधि किन्न बाध्य छन्।
त्यसैगरी, शय्या अभाव पनि गम्भीर समस्याका रूपमा देखिएको छ। वार्डहरूमा बिरामीको अत्यधिक चापका कारण नयाँ बिरामी भर्नाका लागि लामो प्रतीक्षा गर्नुपर्ने अवस्था छ। “एक जना डिस्चार्ज हुँदा धेरै जना भर्नाका लागि प्रतीक्षामा हुन्छन्,” एक सेवाग्राहीले बताए।
अस्पताल परिसरमा दलालहरूको गतिविधि बढेको आरोप पनि उठ्न थालेको छ। शय्या अभावको अवस्था देखाएर केही व्यक्तिले बिरामीका आफन्तलाई निजी अस्पतालतर्फ लैजाने प्रयास गर्ने गरेको गुनासो गरिएको छ।
स्वास्थ्य बीमा प्रणाली सुधारका क्रममा सरकारले निजी अस्पतालमा देखिएको अनियमितता नियन्त्रण गर्न सरकारी अस्पतालमार्फत मात्र सेवा केन्द्रित गर्ने नीति अघि सारेको हो। तर यसले सरकारी अस्पतालमा चाप अस्वाभाविक रूपमा बढाएको देखिन्छ।
सरोकारवालाहरूका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारी अस्पतालको क्षमता विस्तार, औषधि आपूर्ति सुनिश्चितता, जनशक्ति वृद्धि र दलाल नियन्त्रणमा तत्काल ध्यान दिन आवश्यक छ। अन्यथा कार्यक्रमको मूल उद्देश्य नै प्रभावित हुने चेतावनी उनीहरूले दिएका छन्।




