काठमाडाै,२१ जेठ । झापाको दमक नगरपालिका–८ निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारीको रहस्यमय हत्या प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरी अझैसम्म कुनै ठोस निष्कर्षमा पुग्न सकेको छैन।
गत जेठ १६ गते शनिबार बिहान मोरङ–झापा सीमास्थित सेतुमाडी क्षेत्रको रतुवा खोलामा प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा रमाको शव फेला परेको थियो। स्थानीयवासीले खोलामा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाको पाँच दिन बितिसक्दा पनि हत्या कहाँ, कसरी र कसले गरेको हो भन्ने विषयमा प्रहरी स्पष्ट हुन सकेको छैन। यद्यपि घटनास्थलको अवस्था, शवको प्रकृति तथा प्रारम्भिक प्रमाणका आधारमा हत्या अन्यत्र गरेर शव लुकाउने उद्देश्यले रतुवा खोलामा फालिएको हुनसक्ने निष्कर्षमा प्रहरी पुगेको छ।
पारिवारिक स्रोतका अनुसार रमा गत बुधबार साँझ करिब ८ बजेतिर साथीलाई भेट्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन्।
अनुसन्धानका क्रममा प्रहरीले रमाको मोबाइल फोनको प्राविधिक विश्लेषण गर्दा उनको अन्तिम सक्रिय लोकेसन दमक बजार क्षेत्र रहेको पत्ता लगाएको छ। प्रहरीका अनुसार बुधबार राति करिब ११ बजेतिर उनको मोबाइल फोन बन्द भएको देखिएको छ।
हाल प्रहरीले रमासँग अन्तिम समयसम्म सम्पर्कमा रहेका व्यक्तिहरूमाथि सोधपुछ गरिरहेको छ। परिवारले दिएको जानकारीका आधारमा घटनाको दिन सुधार केन्द्रबाट छुटेका एक युवालाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ। तर उनको संलग्नता पुष्टि गर्ने कुनै ठोस प्रमाण हालसम्म फेला नपरेको प्रहरीको भनाइ छ।
शव बोराभित्र प्याक गरेर खोलासम्म पुर्याइएको अवस्थालाई आधार मान्दा घटनामा एकभन्दा बढी व्यक्तिको संलग्नता हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
यसैबीच, घटनासम्बन्धी सामाजिक सञ्जाल, युट्युब च्यानल तथा विभिन्न कन्टेन्ट क्रिएटरहरूबाट फैलाइएका अपुष्ट सूचना र अड्कलबाजीप्रति नेपाल प्रहरीले गम्भीर चिन्ता व्यक्त गरेको छ।
झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँले अनुसन्धानको संवेदनशील चरणमा फैलाइने अपुष्ट दाबी र हल्लाले वास्तविक तथ्य पत्ता लगाउने प्रक्रियामा असर पुर्याउने, निर्दोष व्यक्तिमाथि अनावश्यक शंका उत्पन्न गर्ने तथा सम्भावित प्रमाण नष्ट हुने जोखिम बढाउने बताएका छन्।
उनले तथ्य पुष्टि नभएसम्म कसैलाई दोषी करार नगर्न तथा भ्रमपूर्ण सूचना नफैलाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
कानुन तथा अपराध अनुसन्धानका जानकारहरूले पनि यस्ता जघन्य अपराधका घटनामा सामाजिक सञ्जालको दबाबभन्दा डिजिटल प्रमाण, फरेन्सिक परीक्षण र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।
प्रहरीले अपराधीको पहिचान, हत्याको उद्देश्य र घटनासँग सम्बन्धित प्रमाण संकलनमा अनुसन्धान केन्द्रित रहेको जनाएको छ। साथै दोषीलाई कानुनी दायरामा ल्याइने विश्वास व्यक्त गरेको छ। उता, शोकमा रहेका परिवारजन तथा स्थानीयवासी निष्पक्ष र छिटो न्यायको अपेक्षामा छन्।




