बीरगन्ज,२१ जेठ । बारामा सर्पको दंशइबाट १९ महिनाका एक बालकको मृत्यु भएको छ। पचरौता नगरपालिका–४ बेल्दारीका स्थानीयको खेतमा काम गर्ने क्रममा उक्त दुःखद घटना भएको हो।
स्थानीय महिलाले मकै खेतमा ज्यालादारी काम गर्न जाँदा १९ महिनाका छोरालाई समेत साथमा लगेकी थिइन्। सोही क्रममा मकैबारीमा खेल्दै गर्दा बालकलाई खुट्टामा सर्पले टोकेको बताइएको छ।
घाइते बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
पछिल्लो २४ घण्टामा बारा सहित विभिन्न जिल्लामा सर्पदंशका कारण ३ जनाको मृत्यु भएको तथा १० जना घाइते भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ।
गर्मी मौसम सुरु भएसँगै सर्पदंशको जोखिम बढ्ने भएकाले सतर्क रहन र सावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ।




