spot_img

बीरगन्जमा पार्किङ गरिएको ई–स्कुटरको ब्याट्री विस्फोट हुँदा आगलागी

spot_img
spot_img

बीरगन्ज,२१ जेठ । बीरगन्ज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गढिमाई लज परिसरमा पार्किङ गरिएको एक विद्युतीय स्कुटरको ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ। बिहीबार बिहान करिब ७ बजे भएको घटनामा स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने लजभित्र रहेका विभिन्न सामग्रीमा समेत क्षति पुगेको छ।

प्रहरीका अनुसार मधेश प्रदेश ०३–०३९ प १४४३ नम्बरको ई–स्कुटर लज अगाडि पार्किङ गरिएको अवस्थामा अचानक ब्याट्रीबाट धुवाँ निस्किएपछि विस्फोट भई आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिँदा स्कुटरसँगै लजमा रहेका चौकी, लत्ताकपडा, इन्टरनेट उपकरण, एयर कन्डिसनर, पंखा तथा होर्डिङ बोर्डलगायतका सामग्री जलेर नष्ट भएका छन्।

लज तथा स्कुटरका मालिक किशन साह कानुले स्कुटर पार्किङ अवस्थामा रहेको बेला कुनै पूर्व संकेतबिना धुवाँ निस्कन थालेको र केही क्षणमै विस्फोटजस्तो आवाजसँगै आगो सल्किएको बताए। उनका अनुसार आगो छिट्टै आसपासका संरचनामा फैलिएको थियो।

आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा वीरगञ्ज महानगरपालिकाको दमकल टोली घटनास्थलमा पुगेको थियो। सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइए पनि स्कुटर र लजका सामग्रीमा उल्लेखनीय क्षति पुगेको जनाइएको छ।

घटनापछि विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्रीको सुरक्षा र गुणस्तरबारे पुनः बहस सुरु भएको छ। पीडित पक्षले आगलागीको वास्तविक कारण पत्ता लगाउन प्राविधिक अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

पछिल्लो समय देशका विभिन्न स्थानमा विद्युतीय सवारीसाधनका ब्याट्रीसँग सम्बन्धित समस्या र आगलागीका घटनाहरू सार्वजनिक भइरहेका छन्। वीरगञ्जको यो घटनाले पनि ई–स्कुटर तथा अन्य विद्युतीय सवारीसाधनको सुरक्षा मापदण्ड, ब्याट्रीको गुणस्तर र प्रयोगसम्बन्धी सावधानीबारे गम्भीर समीक्षा आवश्यक रहेको देखाएको सरोकारवालाहरूको भनाइ छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय