बीरगन्ज,२१ जेठ । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो दोस्रो वार्षिक साधारणसभाको अवसरमा प्रकाशित स्मारिकामा शुभकामना सन्देश प्रकाशन गराएबापतको रकम हालसम्म प्राप्त नभएको भन्दै असन्तुष्टि जनाएको छ।
मञ्चका अनुसार जीतपुर–सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले स्मारिकामा शुभकामना सन्देश प्रकाशन गराए पनि त्यसबापतको रकम पटक–पटक अनुरोध गर्दा समेत भुक्तानी नगरेको आरोप लगाइएको छ।
मञ्चले जारी गरेको भनिएको धारणा अनुसार पत्रकारिता क्षेत्रको विकास, प्रवर्द्धन तथा सहकार्यका लागि आफूहरूले विभिन्न संघसंस्थासँग निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै सम्बन्धित पक्षबाट अपेक्षित सहयोग प्राप्त नभएको गुनासो गरेको छ।
मञ्चसँग आबद्ध सदस्यहरूले सञ्चार क्षेत्रलाई प्रोत्साहन र सहयोग गर्नुपर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरूबाट प्रतिबद्धता अनुरूपको व्यवहार नदेखिनु दुःखद भएको बताएका छन्। उनीहरूले प्रतिष्ठित संस्थाका नेतृत्व तहबाट हुने व्यवहारले संस्थाको छवि र विश्वसनीयतामाथि समेत प्रभाव पार्न सक्ने धारणा व्यक्त गरेका छन्।
स्थानीय सञ्चार तथा सामाजिक क्षेत्रसँग सहकार्य गर्दै आएको उद्योग वाणिज्य संघका अध्यक्षसँग जोडिएको यो विषय अहिले स्थानीय स्तरमा चर्चा र चासोको विषय बनेको मञ्चको भनाइ छ।
यता, यस विषयमा अध्यक्ष मोहन शर्माको धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ। उनको प्रतिक्रिया प्राप्त भएपछि समाचारलाई थप अद्यावधिक गरिनेछ।




