वीरगन्ज,२१ जेठ । वीरगन्ज महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा ‘गौरवशाली वीरगन्ज’ पुस्तकलाई सन्दर्भ सामग्रीका रूपमा लागू गर्न सिफारिस गरेको छ।
महानगरको शैक्षिक प्रशासन महाशाखाका अनुसार कक्षा ८ का विद्यार्थीका लागि उक्त पुस्तकलाई सिफारिस गरिएको हो। गत वैशाख ११ गतेको निर्णयअनुसार यसलाई विद्यालय तहमा प्रयोग गर्न सिफारिस गरिएको महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए।
‘गौरवशाली वीरगन्ज’ पुस्तक पत्रकारद्वय माधुरी महतो र श्याम सरार्फले लेखेका हुन्। पुस्तकमा वीरगन्जको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक पहिचान, स्थानीय गौरवका विषयहरू, साथै साहित्य, जीवनी र विभिन्न लेख–रचनाहरू समेटिएका छन्।
भोजपुरी प्रतिष्ठान र वीरगन्ज महानगरपालिकाको सहकार्यमा प्रकाशित यस पुस्तकले विद्यार्थीलाई स्थानीय इतिहास र संस्कृतिबारे ज्ञान दिन सहयोग गर्ने अपेक्षा गरिएको छ। लेखक महतोका अनुसार पुस्तकले वीरगन्जको पहिचानलाई शैक्षिक रूपमा अझ मजबुत बनाउने उद्देश्य राखेको छ।




