काठमाडौं,२३ जेठ । नेपालमा अण्डाको मूल्य लगातार बढिरहेको अवस्थामा नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गरेको छ। सङ्घले किसान, व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालासँगको परामर्शपछि नयाँ मूल्य आजदेखि लागू गरेको जनाएको छ।
चितवनलाई मुख्य उत्पादन आधार मानेर तय गरिएको नयाँ मूल्यअनुसार एक्सएल अण्डाको प्रतिक्रेट (३० वटा) मूल्य ५६० रुपैयाँ, ठुलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ र सानो अण्डाको प्रतिपेटी मूल्य ३,००० रुपैयाँ कायम गरिएको छ। यसले खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।
पछिल्लो एक महिनामा मात्रै अण्डाको मूल्य उल्लेखनीय रूपमा बढेको छ। वैशाख अन्त्यतिर ४६५ रुपैयाँ रहेको एक्सएल अण्डाको मूल्य अहिले ५६० रुपैयाँ पुगेको छ, जुन करिब २० प्रतिशत वृद्धि हो। अन्य आकारका अण्डाको मूल्य पनि सोही अवधिमा उल्लेख्य रूपमा बढेको देखिन्छ।
सङ्घका अनुसार अत्यधिक गर्मीका कारण अण्डा उत्पादन घटेको छ भने बजारमा माग बढिरहेको छ। उत्पादन कम र माग बढी हुँदा मूल्य स्वाभाविक रूपमा उकालो लागेको बताइएको छ।
किसानहरूले दाना, औषधि, ढुवानी लगायत उत्पादन लागत निरन्तर बढिरहेको बताएका छन्। हाल एउटा अण्डा उत्पादन गर्न औसत १९ रुपैयाँ १२ पैसा खर्च लाग्ने र लामो समयसम्म लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपर्दा किसानहरूले ठूलो घाटा व्यहोरेको उनीहरूको भनाइ छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नयाँ मूल्यले किसानलाई कम्तीमा लागत नजिकको प्रतिफल प्राप्त हुने वातावरण बनाएको छ, जसले संकटमा परेको पोल्ट्री क्षेत्रलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
यस्तै, नेपालमा पर्यटक आगमन बढ्नु, भारतीय अण्डाको अवैध आयात नियन्त्रणमा कडाइ हुनु तथा आन्तरिक खपत विस्तार हुनु पनि मूल्य वृद्धिका प्रमुख कारणहरू रहेको सङ्घले जनाएको छ।
किसानहरूले भने अण्डा बजारलाई दीर्घकालीन रूपमा स्थिर बनाउन र उत्पादन लागत घटाउन सरकारले थप नीतिगत सहयोग तथा राहत कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन्।




