काठमाडौं,२३ जेठ । विभिन्न आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये अल्पसूची (सर्टलिस्ट) मा परेका नाम सार्वजनिक गरिएको छ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको बैठकले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालयका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।
सरकारले पहिलो पटक ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार एकीकृत र प्रतिस्पर्धात्मक प्रक्रियामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ।
सार्वजनिक गरिएको सर्टलिस्ट अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि समान १०–१० जना उम्मेदवार छनोट भएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि भने ७ जना उम्मेदवार सर्टलिस्टमा परेका छन्।
समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूबारे सरोकारवाला तथा सर्वसाधारणबाट राय, सुझाव र प्रतिक्रिया मागेको छ। इच्छुक व्यक्तिले २०८३ जेठ २५ गतेभित्र आफ्नो सुझाव पेश गर्न सक्नेछन्। प्राप्त सुझाव तथा विज्ञ मूल्याङ्कनका आधारमा अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने जनाइएको छ।
उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन परेको थियो। ती आवेदनहरूको विज्ञ समूहबाट मूल्याङ्कन गरी प्राप्त अंकका आधारमा अल्पसूची तयार गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।
सरकारले गत वैशाख २४ गते आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि खुला आवेदन आह्वान गरेको थियो। त्यसपछि जेठ १३ गते बसेको छनोट तथा सिफारिस समितिको बैठकले आवेदनहरूको प्रारम्भिक परीक्षण गरी योग्य उम्मेदवारहरूको दरखास्त स्वीकृत गरेको थियो।
प्रधानमन्त्री तथा सम्बन्धित विश्वविद्यालयका कुलपति बालेन शाहले शिक्षामन्त्री तथा सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा उपकुलपति सिफारिस समिति गठन गरेका थिए। समितिले स्वतन्त्र विज्ञहरूको उपसमिति गठन गरी उनीहरूको मूल्याङ्कनका आधारमा सर्टलिस्ट तयार गरेको जनाएको छ।
शिक्षा मन्त्रालयका अनुसार नयाँ कार्यविधिले विश्वविद्यालय नेतृत्व चयन प्रक्रियामा पारदर्शिता, योग्यता आधारित प्रतिस्पर्धा तथा निष्पक्षता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। यसलाई नेपालको उच्च शिक्षामा नेतृत्व छनोट प्रक्रियालाई थप संस्थागत र उत्तरदायी बनाउने प्रयासका रूपमा हेरिएको छ।




