बीरगन्ज,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला अधिवेशनअन्तर्गत शनिबार कार्यकर्ताबीच भएको विवाद तथा कुटाकुटका कारण स्थगित गरिएको निर्वाचन प्रक्रिया आज पुनः सुरु हुने भएको छ।
रास्वपा निर्वाचन कार्यालय पर्साका निर्वाचन संयोजक डा. नन्दन यादवले जारी गरेको विज्ञप्तिअनुसार स्थगित गरिएका सम्पूर्ण निर्वाचन कार्यक्रम आज दिउँसो ३ बजेदेखि वीरगञ्जस्थित क्लासिक ब्याङ्क्वेटमा सञ्चालन गरिनेछ।
जिल्ला नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षबीच विवाद चर्किएपछि शनिबार साँझ कार्यकर्ताहरूबीच भनाभन र हात हालाहालको स्थिति सिर्जना भएको थियो। घटनापछि निर्वाचन समितिले सुरक्षा तथा व्यवस्थापनलाई मध्यनजर गर्दै निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरेको थियो।
निर्वाचन संयोजक डा. यादवका अनुसार बाँकी रहेको निर्वाचन प्रक्रिया सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। स्थानीय नेतृत्व तथा केन्द्रीय प्रतिनिधिहरूले संयुक्त रूपमा पहल गरी निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गराउने सहमति गरेका छन्।
घटनापछि निर्वाचनस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ। निर्वाचन समितिले उम्मेदवार, महाधिवेशन प्रतिनिधि तथा सदस्यहरूलाई पार्टीको अनुशासन र मर्यादाभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।
देशव्यापी रूपमा सञ्चालन भइरहेको जिल्ला अधिवेशनअन्तर्गत पर्सामा नयाँ जिल्ला कार्यसमिति चयनको प्रक्रिया जारी रहेको छ। आकांक्षीहरूको संख्या बढी हुनु तथा आन्तरिक असन्तुष्टिका कारण उत्पन्न विवादले अधिवेशन प्रभावित बनेको भए पनि आजै नयाँ जिल्ला कार्यसमिति चयन गरी घोषणा गर्ने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ।




