spot_img

विगतका गल्तीबाट मुक्त नयाँ नेतृत्व, भविष्यमुखी कूटनीतिमा जोड : परराष्ट्रमन्त्री खनाल

spot_img
spot_img

काठमाडाैं,२४ जेठ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले आफूले नेपालको पूर्णतः नयाँ राजनीतिक यथार्थको प्रतिनिधित्व गरिरहेको बताएका छन्। भारतीय विदेशमन्त्री एस. जयशङ्करको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली पुगेका खनालले भ्रमणको अन्तिम दिन नेपाली दूतावासमा आयोजित पत्रकार भेटघाटमा यस्तो धारणा राखेका हुन्।

उनका अनुसार नेपालमा नयाँ पुस्ताको नेतृत्व नागरिकले दिएको ऐतिहासिक जनादेशको परिणाम हो, जसको मूल आधार सुशासन, मेरिटोक्रेसी र प्रत्यक्ष जवाफदेहिता रहेको छ। उनले आफ्नो पुस्ताको सबैभन्दा ठूलो शक्ति विगतका गल्ती र अन्योलबाट मुक्त हुनु रहेको स्पष्ट पारे।
“हामीसँग एउटा विशेष पुँजी छ—विगतका कुनै पनि बोझबाट मुक्त भएर अगाडि बढ्ने क्षमता,” खनालले भने, “यसले हामीलाई भविष्यमुखी र परिणाममुखी कूटनीति सञ्चालन गर्न सक्षम बनाउँछ।”

सञ्चारमाध्यमको भूमिकाबारे बोल्दै उनले लोकतान्त्रिक समाजमा पत्रकारिता अपरिहार्य रहेको बताए। उनका अनुसार पत्रकारहरू केवल घटनाका दर्शक मात्र नभई लोकतान्त्रिक मूल्यमान्यताका महत्वपूर्ण स्तम्भ हुन्। नेपाल–भारत सम्बन्धलाई सुदृढ बनाउन सञ्चारमाध्यमले दुवै देशका जनतालाई नजिक ल्याउने पुलको काम गर्ने उनको विश्वास छ।

खनालले नेपाल र भारतबीचको सम्बन्धलाई केवल राजनीतिक सीमामा सीमित नभएको उल्लेख गर्दै ऐतिहासिक, सांस्कृतिक र भौगोलिक निकटताले जोडिएको गहिरो सहकार्यको सम्बन्ध भएको बताए। हिमालयदेखि गङ्गा बेसिनसम्म फैलिएको साझा प्राकृतिक र सभ्यतागत सम्पदाले दुई देशलाई सहयात्री बनाएको उनको धारणा थियो।

भ्रमणका क्रममा प्राप्त न्यानो आतिथ्य र सहकार्यप्रति उनले भारत सरकारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र व्यावहारिक बनाउने प्रतिबद्धता व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय