रौतहट,२५ जेठ । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित गरुडा–समनपुर सडकखण्डमा अज्ञात सवारी साधनको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। मृतकको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गरुडा का प्रमुख शङ्कर प्रसाद आचार्य का अनुसार नम्बर नखुलेको सवारी साधनले साइकलयात्रीलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटना कहिले भएको हो भन्ने यकिन भइसकेको छैन। सोमबार बिहान करिब ६ बजे स्थानीयवासीले सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ डीएसपी आचार्यसहितको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो।
प्रहरीका अनुसार मृतक पुरुषको उमेर करिब ४० देखि ४५ वर्षको बीचमा रहेको अनुमान गरिएको छ। शव सडक छेउमा लडिरहेको अवस्थामा फेला परेको थियो भने उनको बायाँ खुट्टा साइकलमा अड्किएको अवस्थामा भेटिएको बताइएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक प्रमाण सङ्कलन गरिसकेको छ। दुर्घटना वा अन्य कुनै कारणबाट घटना भएको हो भन्ने विषयमा दुवै कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डीएसपी आचार्यले घटनाको वास्तविक कारणबारे अनुसन्धान तीव्र रूपमा अघि बढाइएको जानकारी दिँदै चाँडै थप विवरण सार्वजनिक गरिने बताए।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी गरिएको छ। साथै मृतकको पहिचान खुलाउन आसपासका क्षेत्रमा सोधपुछ तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले मृतकको पहिचान वा घटनासम्बन्धी कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।




