बीरगन्ज,२५ जेठ । सुनसरीको इनरुवा क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल गए राति करिब ११ बजे सडक किनारमा रोकिराखिएको को १ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार अन्य दुई जना—इनरुवा–८ का २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी—घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न टिपर चालक कोशी गाउँपालिका–३ का ४८ वर्षीय लालमोहमद मियाँलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल चालकको तीव्र गति र लापरवाहीका कारण दुर्घटना भएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।




