जनकपुर,२५ जेठ । महोत्तरीमा तीन दिनदेखि बेपत्ता रहेका एक तीन वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्। बालकको शव सम्सी गाउँपालिका–५ ब्रम्हस्थानस्थित पोखरीमा बोराभित्र बाँधिएको अवस्थामा भेटिएपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी का प्रहरी नायब उपरीक्षक पन्चलाल गोले का अनुसार आइतबार साँझ स्थानीयवासीले पोखरीमा पानीमाथि तैरिरहेको बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले बोराभित्र बालकको शव फेला पारेको हो।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा बालकको हत्या गरी शव पोखरीमा फालिएको हुन सक्ने जनाएको छ। घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान गर्न अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।
डीएसपी गोलेका अनुसार बालक जेठ २२ गते साँझ घर नजिकै खेल्न निस्किएपछि सम्पर्कविहीन भएका थिए। परिवारले खोजी गर्दा नभेटिएपछि प्रहरीमा जानकारी गराइएको थियो। त्यसयता प्रहरीले खोजी कार्य जारी राखेको थियो।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले हाल मृतक बालकको पहिचान सार्वजनिक गरिएको छैन।
घटनाको वास्तविक कारण र दोषीको पहिचान अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।




