काठमाडौँ,२५ जेठ । नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या वर्षेनि बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र ले सार्वजनिक गरेको अध्ययनअनुसार अघिल्लो वर्षको तुलनामा ब्रेन ट्युमरका बिरामीको संख्या १५.४ प्रतिशतले वृद्धि भएको छ।
देशभरका २० भन्दा बढी न्युरो केन्द्रको तथ्याङ्क विश्लेषण गरेर तयार गरिएको अध्ययनले २०८२ सालमा करिब ३ हजार बिरामीले ब्रेन ट्युमरको उपचार गराएको देखाएको छ। अध्ययनअनुसार रोगले पुरुष र महिलालाई लगभग समान रूपमा असर गरेको छ। कुल बिरामीमध्ये ५०.०७ प्रतिशत पुरुष र ४९.९३ प्रतिशत महिला रहेका छन् भने बिरामीहरूको औसत उमेर ४६ वर्ष रहेको पाइएको छ।
तथ्याङ्कले विशेषगरी ३० देखि ५० वर्ष उमेर समूहका व्यक्तिहरू सबैभन्दा बढी प्रभावित भएको देखाएको छ। प्रदेशगत रूपमा बागमती प्रदेशबाट सबैभन्दा धेरै बिरामी उपचारका लागि आएका छन्। यद्यपि कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्युरो उपचार सेवाको पहुँच अझै सीमित रहेको भन्दै सेवा विस्तारको आवश्यकता औँल्याइएको छ।
अध्ययनले अर्को चिन्ताजनक तथ्य पनि उजागर गरेको छ। उच्च-ग्रेड ग्लियोमा (High-grade Glioma) का बिरामीको अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको छ। यसले अधिकांश बिरामी जटिल अवस्था पुगेपछि मात्र उपचारका लागि अस्पताल पुग्ने गरेको संकेत गर्ने चिकित्सकहरूको भनाइ छ।
राजीव झा ले प्रारम्भिक चरणमै रोगको पहिचान र उपचार गर्न सके धेरै बिरामीको ज्यान बचाउन सकिने बताए। उनले जनचेतना अभावका कारण धेरै बिरामी ढिलो गरी अस्पताल आउने गरेको उल्लेख गर्दै समयमै परीक्षण र उपचारमा जोड दिए।
अध्ययनअनुसार मेनिन्जियोमा प्रकारको ट्युमरको हिस्सा उल्लेखनीय रूपमा बढेको छ भने ग्रेड–३ मेनिन्जियोमाका बिरामीमा कमी आएको पाइएको छ, जसलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ।
विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पताल ले असार १६ गतेसम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेको छ। अस्पतालले विगत दुई वर्षदेखि सञ्चालन गर्दै आएको निःशुल्क शल्यक्रिया कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको जनाएको छ।
दिवसको अवसरमा सोमबार काठमाडौँमा जनचेतनामूलक प्रभातफेरी समेत आयोजना गरिएको थियो। साथै नेपालमा न्युरोअन्कोलोजी सेवाको विकासमा योगदान पुर्याएको भन्दै चष्रधाम बुढाथोकी लाई ‘च्याम्पियन अफ न्युरोअन्कोलोजी केयर–२०२६’ सम्मान प्रदान गरिएको छ।




