काठमाडौं,२५ जेठ । प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको निरन्तर विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ। सोमबार बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्याल ले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।
विरोधका बीच सभामुखले एमाले संसदीय दलकी उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन भएको आरोप लगाइन्। साथै, प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर क्षमा याचना गर्नुपर्ने माग गरिन्।
प्रधानमन्त्री बालेन शाहले १७ जेठको प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्ने धारणा राखेका थिए, जसलाई लिएर विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
विपक्षीको अवरोध जारी रहेपछि बैठक छोटो समयका लागि स्थगित गरिएको हो।




