spot_img

विभेदकारी सूचना तथा विज्ञापन नीतिविरुद्ध पर्साबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

spot_img
spot_img

बीरगन्ज,२५ जेठ । सूचना तथा विज्ञापनसम्बन्धी सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै पर्साका सञ्चारकर्मी तथा सरोकारवालाहरूले हस्ताक्षरसहितको ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष पठाएका छन्। नेपाल पत्रकार महासंघ पर्सा को नेतृत्वमा सञ्चालन गरिएको हस्ताक्षर अभियानमार्फत सङ्कलित समर्थनसहितको ज्ञापनपत्र सोमबार जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री कार्यालय पठाइएको हो।

महासंघका सचिव विजय महतोको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापालाई ज्ञापनपत्र हस्तान्तरण गरेको थियो।

ज्ञापनपत्रमा सरकारले लागू गरेको सूचना तथा विज्ञापन नीतिका केही व्यवस्थाले विशेषगरी मोफसलमा सञ्चालित सञ्चारमाध्यमलाई प्रत्यक्ष असर पार्ने उल्लेख गरिएको छ। विज्ञापन वितरण र सरकारी सूचनाको पहुँचमा असमानता सिर्जना हुन सक्ने प्रावधानका कारण स्थानीय सञ्चारमाध्यमको आर्थिक अवस्था तथा सञ्चालनमा चुनौती थपिने चिन्ता व्यक्त गरिएको छ।

सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रता, समान अवसर र सञ्चार क्षेत्रको दिगो विकास सुनिश्चित गर्न विभेदकारी व्यवस्था हटाई नीति पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन्। साथै, सञ्चार क्षेत्रका सरोकारवालासँग पर्याप्त छलफल र परामर्शबिना नीति कार्यान्वयन गरिएको भन्दै व्यापक सहभागितासहित आवश्यक संशोधन गर्न आग्रह गरिएको छ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा शंकर खतिवडा सहित महासंघका पदाधिकारी, विभिन्न सञ्चार संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

उपस्थित वक्ताहरूले लोकतान्त्रिक समाजमा स्वतन्त्र, निष्पक्ष र सशक्त सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सरकारले मोफसलका सञ्चारमाध्यमको हित र अस्तित्व संरक्षण हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

महासंघका प्रतिनिधिहरूले पर्साबाट उठाइएको आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दै सूचना तथा विज्ञापन नीतिमा आवश्यक सुधार र संशोधन गर्ने अपेक्षा व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय