बीरगन्ज,११ असार । कलैया उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ६७ करोड ६३ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभाको १७औँ अधिवेशनमा उपप्रमुख रौशन परविनले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेटमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदानलाई मुख्य स्रोतका रूपमा समेटिएको छ। बजेटअनुसार नेपाल सरकारको समानीकरण अनुदानतर्फ ४९ करोड ३६ लाख ३० हजार रुपैयाँ, सशर्त अनुदान (चालु) तर्फ ५९ करोड ७९ लाख रुपैयाँ र सशर्त अनुदान (पूँजीगत) तर्फ ४ करोड ७७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
यस्तै, समपूरक अनुदानतर्फ १ करोड ८४ लाख रुपैयाँ र विशेष अनुदानतर्फ १ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान ८० लाख रुपैयाँ र विशेष अनुदान २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
उपमहानगरपालिकाले दायित्व भुक्तानीका लागि १५ करोड रुपैयाँ, नगरस्तरीय कार्यक्रम सञ्चालनका लागि ६ करोड २२ लाख रुपैयाँ तथा वडा तहका विकास कार्यक्रमका लागि २७ करोड रुपैयाँ विनियोजन गरेको छ।
यसअघि आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७३९ रुपैयाँको बजेट ल्याइएको थियो। त्यसको तुलनामा आगामी वर्षको बजेट करिब ५ करोड १० लाख रुपैयाँले घटेको देखिन्छ।
उपमहानगरपालिकाका अनुसार आगामी वर्षको बजेटमा स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखिएको छ। नगरसभाको अध्यक्षता नगर प्रमुख बिनोद साहले गर्नुभएको थियो।




