spot_img

रौतहट वन कार्यालय प्रमुखको सरुवा तत्काल कार्यान्वयन गर्न चुरे अभियानको माग

spot_img
spot_img

जनकपुर,११ असार । चुरे तथा वनजंगल संरक्षण अभियानले डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहको सरुवा निर्णय तत्काल कार्यान्वयन गर्न मधेश प्रदेश सरकारसँग माग गरेको छ।

अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले बुधबार वन तथा वातावरण मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै सरुवा आदेश दुई साताभन्दा बढी समय बितिसक्दा पनि कार्यान्वयन नभएकोप्रति ध्यानाकर्षण गराएका हुन्।

ज्ञापनपत्रमा मन्त्रालयले गरेको निर्णय समयमै लागू नहुँदा सरकारी निर्णयहरू प्रभावहीन र केवल कागजमै सीमित रहेको सन्देश जाने उल्लेख गरिएको छ। साथै रौतहट वन क्षेत्रसँग सम्बन्धित विभिन्न अनियमितता र घटनाबारे गठित छानबिन समितिहरूले प्रतिवेदन बुझाइसके पनि ती प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन नगरिएको विषयमा अभियानले प्रश्न उठाएको छ।

अभियानले बर्दिबास–कालापानी क्षेत्रमा वन अतिक्रमण नियन्त्रणका क्रममा वन कर्मचारीहरूमाथि भएको दुर्व्यवहारप्रति पनि गम्भीर चासो व्यक्त गरेको छ। कर्मचारीहरूलाई घण्टौँसम्म बन्धक बनाउने तथा सरकारी सवारीसाधनमा आगजनी गर्ने घटनाका दोषीहरू अझै कानुनी दायरामा नआएको भन्दै अभियानले मन्त्रालयको भूमिकामाथि असन्तुष्टि जनाएको छ।

अभियानका अनुसार आफ्नै मातहतका कर्मचारीमाथि भएको घटनामा समेत सम्बन्धित निकाय मौन बस्नु चिन्ताजनक छ। ज्ञापनपत्रमार्फत सरुवा आदेश तत्काल कार्यान्वयन गर्ने, रौतहट वन क्षेत्रसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरी आवश्यक कारबाही अघि बढाउने तथा महोत्तरी घटनाका दोषीमाथि कानुनी कारबाही गरी पीडित कर्मचारीलाई न्याय दिलाउने माग गरिएको छ।

मागहरू यथाशीघ्र सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि अभियानले दिएको छ। उक्त ध्यानाकर्षण पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय महोत्तरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पठाइएको जनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय