जनकपुर,११ असार । धनुषाका १८ स्थानीय तहमध्ये १५ वटाले कानुनले तोकेको समयसीमाभित्र नगरसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन्। तर जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले असार १० गतेभित्र नगरसभा सम्पन्न गर्न सकेनन्।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहहरूले असार १० भित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। तर विभिन्न प्रशासनिक तथा प्राविधिक कारण देखाउँदै यी तीन स्थानीय तहले तोकिएको समयसीमा पालना गर्न नसकेका हुन्।
धनुषाका अधिकांश स्थानीय तहले भने समयमै बजेट सार्वजनिक गरेका छन्। बजेट आकारका हिसाबले मिथिला नगरपालिकाले ९१ करोड रुपैयाँको बजेट ल्याएको छ भने क्षीरेश्वरनाथ नगरपालिकाले ७८ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यसैगरी सबैला नगरपालिकाले ७७ करोड ७ लाख रुपैयाँ र शहीदनगर नगरपालिकाले ६५ करोड ८० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
यस्तै धनौजी गाउँपालिकाले ६० करोड ६५ लाख रुपैयाँ, धनुषाधाम नगरपालिकाले ५७ करोड २० लाख रुपैयाँ तथा हंसपुर नगरपालिकाले ५५ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।
नगरसभा हुन नसकेका स्थानीय तहमध्ये जनकपुरधाम उपमहानगरपालिकाले नगरप्रमुख जिल्लाबाहिर रहेकाले सभा स्थगित भएको जनाएको छ। विदेह नगरपालिकाले अघिल्लो आर्थिक वर्षको फर्छ्योट र प्रशासनिक जटिलता कारण देखाएको छ भने कमला नगरपालिकाले छिट्टै कार्यपालिका बैठक बसेर नगरसभाको नयाँ मिति तय गर्ने जनाएको छ।
धनुषाका अधिकांश स्थानीय तहले समयमै बजेट सार्वजनिक गरेर आगामी वर्षका योजना अघि बढाउने तयारी गरिरहेका बेला तीन स्थानीय तहमा नगरसभा हुन नसक्दा विकास योजना, बजेट कार्यान्वयन र सेवा प्रवाहको प्रक्रिया केही समय प्रभावित हुन सक्ने देखिएको छ।




