काठमाडौं,११ असार । कक्षा १२ को नतिजा र मूल्याङ्कन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले नतिजा प्रकाशन तथा उत्तरपुस्तिका मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको दाबी गर्दै निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिकाको पुनः परीक्षण तथा मूल्याङ्कन प्रणालीमा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।
प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त तथा साहेब साहलगायतले गरेका थिए।
प्रदर्शनकारीहरूले “१२ वर्षको मेहनत खेर गयो, जिम्मेवार को ?”, “हाम्रो भविष्य बर्बाद भयो” र “हामी न्याय खोज्न कहाँ जाऔँ ?” जस्ता सन्देश लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।
विद्यार्थीहरूको भनाइमा नतिजा छिटो सार्वजनिक गर्ने प्रयासमा मूल्याङ्कन प्रक्रियामा कमजोरी भएको र त्यसको प्रत्यक्ष असर आफूहरूको शैक्षिक भविष्यमा परेको छ। उनीहरूले कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई हजारौं विद्यार्थीको भविष्यसँग जोडिएको संवेदनशील मुद्दा भएको बताएका छन्।
मागहरू सम्बोधन नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत विद्यार्थीहरूले दिएका छन्। यद्यपि, शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको स्पष्ट पारिसकेको छ।
नतिजाप्रति विद्यार्थीहरूको असन्तुष्टि बढ्दै गएसँगै मूल्याङ्कन प्रणालीको विश्वसनीयता र पारदर्शिताबारे बहस पुनः चर्किएको छ।




