बीरगन्ज,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनस्थित भरतपुरमा जारी प्रथम महाधिवेशनमा हिन्दु धर्मप्रतिको आस्थामा चोट पुग्ने गतिविधि भएको आरोप लगाउँदै हिन्दुवादी संघ–संगठनहरूले सम्बन्धित व्यक्तिमाथि कारबाहीको माग गरेका छन्।
बजरंग दल पर्सा र नेपाल विश्व हिन्दु महासंघ पर्साले बिहीबार संयुक्त रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै रास्वपा महाधिवेशनमा देखिएको एक गतिविधिप्रति आपत्ति जनाएका हुन्। ज्ञापनपत्रको प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पठाइएको जनाइएको छ।
ज्ञापनपत्रअनुसार, वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी महबुब आलमसहित केही व्यक्तिले महाधिवेशनस्थलमा हिन्दु धार्मिक प्रतीक ‘काँवर’ बोकी त्यसमा भगवान् श्रीराम र लक्ष्मणका तस्बिरसँगै रवि लामिछाने र बालेन शाहका तस्बिर राखेर प्रदर्शन गरेका थिए। साथै उनीहरूले सार्वजनिक रूपमा रवि लामिछाने र बालेन शाहको तुलना भगवान् श्रीराम र लक्ष्मणसँग गरेको आरोप लगाइएको छ।
हिन्दुवादी संगठनहरूले उक्त गतिविधिलाई राजनीतिक प्रचारका लागि धार्मिक आस्थाको दुरुपयोग भएको भन्दै आलोचना गरेका छन्। उनीहरूले करोडौँ हिन्दुहरूको आस्थाका केन्द्र भगवान् श्रीरामको नाम राजनीतिक व्यक्तित्वहरूको महिमामण्डनका लागि प्रयोग गर्नु निन्दनीय कार्य भएको बताएका छन्।
ज्ञापनपत्रमार्फत संगठनहरूले धार्मिक भावनामाथि असर पुग्ने अभिव्यक्ति दिने व्यक्तिहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने, धार्मिक प्रतीकहरूको राजनीतिक प्रयोजनका लागि प्रयोग बन्द गरिनुपर्ने तथा यस्ता गतिविधिमाथि आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्।
संगठनहरूले भविष्यमा हिन्दु देवी–देवता तथा सनातन धर्मप्रति अनादर हुने गतिविधि दोहोरिए कडा विरोधका कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत दिएका छन्।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले विषयलाई गम्भीरतापूर्वक लिइएको बताउँदै धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पुग्ने गतिविधिहरूलाई कानुनअनुसार सम्बोधन गरिने प्रतिक्रिया दिएका छन्।




