बीरगन्ज,११ असार । देशका ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। संक्रमण फैलिन थालेसँगै सर्वसाधारणमा कुखुराको मासु तथा अण्डा सेवनबारे चासो र त्रास बढेको छ।
पशु सेवा विभागका अनुसार बारा, महोत्तरी, झापा, सुनसरी, मोरङ, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा बर्ड फ्लु संक्रमण देखिएको छ। संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रका फार्महरूमा व्यापक रूपमा ‘स्टाम्पिङ आउट’ अभियान सञ्चालन गरिएको विभागले जनाएको छ।
विभागका तथ्यांकअनुसार हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा, ९ लाख ८९ हजार ३१३ वटा अण्डा तथा १ लाख ९५ हजार ४८५ किलोग्राम दाना नष्ट गरिएको छ।
प्रयोगशालामा गरिएको परीक्षणबाट एच–फाइभ एन–वान (H5N1), एच–नाइन एन–टु (H9N2) तथा न्युक्यासल रोगका भाइरस सक्रिय रहेको पुष्टि भएको छ। विभागले कोशी प्रदेशमा भने पछिल्लो एक महिनाभित्र संक्रमण नियन्त्रणमा ल्याउन सफल भएको जनाएको छ।
संक्रमण थप फैलिन नदिन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी विभिन्न नियन्त्रणात्मक उपायहरू लागू गरिएको विभागले जनाएको छ। संक्रमित फार्मका सम्पूर्ण कुखुरा नष्ट गरी सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य जारी छ भने परीक्षणको दायरा बढाउन प्रयोगशालाहरू सार्वजनिक बिदाका दिनसमेत सञ्चालन गरिएका छन्।
यस्तै, सीमा नाका तथा क्वारेन्टाइन क्षेत्रमा निगरानी कडा पारिएको छ। कुखुरा, अण्डा र पशुपन्छीजन्य सामग्रीको ओसारपसारमा विशेष सतर्कता अपनाइएको विभागका अधिकारीहरूले बताएका छन्।
अवैध रूपमा हुने पशुपन्छीको बिक्री–वितरण नियन्त्रण गर्न सुरक्षा निकायसँगको सहकार्यमा विशेष अनुगमन तथा निगरानी अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ।
विभागले सर्वसाधारणलाई आधिकारिक निकायबाट जारी हुने सूचनामा विश्वास गर्न तथा सुरक्षित रूपमा प्रशोधन गरिएको कुखुराको मासु र अण्डा मात्र प्रयोग गर्न आग्रह गरेको छ।




