चितवन,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज पदाधिकारी चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्की बीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।
महामन्त्री पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन्। यसअघि उम्मेदवारी दिएका जगदिश खरेल ले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
सहमहामन्त्री पदमा ११ जना प्रतिस्पर्धामा छन्। उम्मेदवारहरूमा रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री छन्।
महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा चुनावी मैदानमा छन्।
यसअघि पुरुष खुलातर्फको उपसभापतिमा स्वर्णीम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् भने पार्टी सभापतिमा रवि लामिछाने पनि सर्वसम्मत चयन भएका छन्। अब बाँकी पाँच पदाधिकारी पदका लागि मतदान हुँदैछ।
छ दिनदेखि सञ्चालन भइरहेको महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधि मतदानअघि नै घर फर्किसकेको अवस्थामा आजको निर्वाचनबाट रास्वपाको नयाँ नेतृत्व टोलीले पूर्णता पाउने अपेक्षा गरिएको छ।




