चितवन,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
खरेलले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै पार्टीको दीर्घकालीन यात्रा, सहमति र एकतालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरेको बताएका छन्। उनले सबै पक्षबीचको समझदारीलाई बलियो बनाउन आफू पछि हटेको उल्लेख गरेका छन्।
रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित खरेलले यसअघि महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गरेका थिए।
आज महाधिवेशनका प्रतिनिधिहरूले पाँच पदाधिकारी पदका लागि मतदान गर्दैछन्। पार्टी सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने पुरुष खुलातर्फको उपसभापति पदमा स्वर्णिम वाग्ले पनि सर्वसम्मत चयन भएका छन्। बाँकी पदाधिकारी चयनका लागि भने निर्वाचन प्रक्रिया जारी रहेको छ।




