काठमाडौं,१२ असार । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ७९ हजार १ सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यद्यपि, साताभरको मूल्य तुलना गर्दा सुन अझै पनि घट्दो अवस्थामा छ। गत शुक्रबार प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य एक सातामै ७ हजार ६ सय रुपैयाँले घटेको देखिएको छ।
यता चाँदीको मूल्य भने शुक्रबार प्रतितोला ५५ रुपैयाँले घटेको छ। अघिल्लो दिन ४ हजार २३५ रुपैयाँ रहेको चाँदीको भाउ घटेर ४ हजार १८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार भने चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।




