spot_img

बाराका सबै स्थानीय तहले ल्याए नयाँ बजेट, कृषि, पूर्वाधार र सेवा सुधार प्राथमिकतामा

spot_img
spot_img

बीरगन्ज,१२ असार । बारा जिल्लाका १६ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। संवैधानिक व्यवस्थाअनुसार निर्धारित समयभित्र नगरसभा तथा गाउँसभा सम्पन्न गर्दै स्थानीय तहहरूले विकास र सेवा प्रवाहका प्राथमिकता सार्वजनिक गरेका हुन्।

यस वर्षको बजेटमा कृषि क्षेत्रको आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सडक तथा अन्य भौतिक पूर्वाधार निर्माण, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ।

बजेटको आकारका हिसाबले जीतपुरसिमरा उपमहानगरपालिका सबैभन्दा अगाडि रहेको छ। उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याएको छ। त्यसपछि कलैया उपमहानगरपालिकाले १ अर्ब ६७ करोड ६३ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ।

नगरपालिकामध्ये निजगढ नगरपालिकाले १ अर्ब १० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महागढीमाई नगरपालिकाले ७२ करोड ८२ लाख, कोल्हवी नगरपालिकाले ७१ करोड ६६ लाख, सिम्रौनगढ नगरपालिकाले ६१ करोड ६३ लाख र पचरौता नगरपालिकाले ६१ करोड ४१ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्।

गाउँपालिकातर्फ करैयामाई गाउँपालिकाले ४५ करोड ६८ लाख रुपैयाँको सबैभन्दा ठूलो बजेट ल्याएको छ। त्यसपछि सुवर्ण गाउँपालिकाले ४३ करोड २६ लाख, प्रसौनी गाउँपालिकाले ४१ करोड ३७ लाख, आदर्श कोतवाल गाउँपालिकाले ४१ करोड ३३ लाख, बारागढी गाउँपालिकाले ३९ करोड ७७ लाख, देवताल गाउँपालिकाले ३९ करोड ७० लाख, फेटा गाउँपालिकाले ३९ करोड १६ लाख, परवानीपुर गाउँपालिकाले ३६ करोड ६३ लाख र विश्रामपुर गाउँपालिकाले ३५ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेका छन्।

स्थानीय तहहरूले सार्वजनिक गरेका नीति तथा कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि, आधारभूत सेवा विस्तार, पूर्वाधार विकास, स्थानीय आर्थिक गतिविधि सुदृढीकरण र नागरिकलाई सहज तथा प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य लिएको बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय