spot_img

ट्राफिक नियम उल्लंघनमा अब ५ सयदेखि १ लाख रुपैयाँसम्म जरिवानाको तयारी

spot_img
spot_img

काठमाडौं,१२ असार । सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई कसुरको प्रकृतिअनुसार ५ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था सहित नयाँ कानुन ल्याउने तयारी गरेको छ।

भौतिक विकास मन्त्रालयले अघि बढाएको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ अन्तर्गत ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध कडा जरिवानाको प्रस्ताव गरिएको हो। यसअघि तयार गरिएको विधेयकमै आधारित रहेर मन्त्रालयले अहिले सरोकारवालासँग छलफल अघि बढाइरहेको जनाएको छ।

मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालका अनुसार ट्राफिक नियम उल्लंघनलाई नियन्त्रण गर्न कसुरअनुसार फरक–फरक जरिवानाको व्यवस्था गरिएको विधेयकमाथि छलफल भइरहेको छ।

प्रस्तावित व्यवस्थाअनुसार अपारदर्शी सिसा प्रयोग गर्ने वा सिसामा अनधिकृत वस्तु राखेर सवारी चलाउने चालकलाई सबैभन्दा बढी १ लाख रुपैयाँ जरिवाना गरिनेछ।

त्यस्तै, मादक वा नसालु पदार्थ सेवन गरेर सवारी चलाएमा दुई वा तीनपांग्रे सवारीका चालकलाई २५ हजार रुपैयाँ, साना सवारीका चालकलाई ३५ हजार रुपैयाँ तथा मझौला र ठूला सवारीका चालकलाई ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ।

सुरक्षित गति सीमाभन्दा बढी गतिमा सवारी चलाउने चालकलाई पनि सोही दरमा जरिवाना गर्ने व्यवस्था विधेयकमा समेटिएको छ।

यस्तै, अनधिकृत रूपमा ट्राफिक संकेत हटाउने, परिवर्तन गर्ने, बिगार्ने, मेट्ने वा क्षति पुर्‍याउनेलाई ५ हजार रुपैयाँ जरिवाना गरिने प्रस्ताव गरिएको छ।
सबैभन्दा कम जरिवाना ५ सय रुपैयाँ निषेधित क्षेत्रमा हर्न बजाउने तथा सडक अनुशासन उल्लंघन गर्ने चालकलाई तोकिएको छ।

प्रस्तावित विधेयकको दफा ६८ अनुसार ट्राफिक नियम उल्लंघन सम्बन्धी कसुरमा जरिवाना निर्धारण गर्ने अधिकार यातायात निरीक्षकलाई हुनेछ।

राष्ट्रिय तथा अन्तरप्रदेश लोकमार्गमा संघीय सरकारले तोकेको कार्यालयका प्रमुख वा अधिकृतस्तरका कर्मचारी निरीक्षक रहनेछन् भने अन्य सडकका हकमा सम्बन्धित प्रदेश कानुनअनुसार अधिकृतस्तरका कर्मचारीलाई यातायात निरीक्षक तोकिने व्यवस्था प्रस्ताव गरिएको छ।
सरकारले विधेयकलाई अन्तिम रूप दिएर पारित गरेपछि नयाँ जरिवाना व्यवस्था कार्यान्वयनमा आउनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय