बारा,१२ असार । बारा जिल्लामा यस वर्ष ९३ हजार ३३० मेट्रिकटन चैतेधान उत्पादन भएको छ। जिल्लाभर १८ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएको चैतेधान खेतीबाट प्रतिहेक्टर औसत ५.१ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहका अनुसार किसानहरूले विभिन्न जातका चैतेधान खेती गरेका थिए। उत्पादन राम्रो भए पनि बजारमा धानको मूल्य प्रतिक्विन्टल करिब रु २ हजार कायम रहेकाले किसानले कुल रु १ अर्ब ८६ करोड ६६ लाख बराबरको आम्दानी गरेका छन्।
कृषि अर्थ विज्ञ गणेश महराका अनुसार गत वर्ष जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको थियो। त्यसबेला पनि प्रतिहेक्टर औसत उत्पादन ५.१ मेट्रिकटन नै रहेकामा धानको मूल्यका कारण किसानले करिब रु २ अर्ब १ करोड ९६ लाख आम्दानी गरेका थिए।
यस वर्ष उत्पादन स्थिर रहे पनि बजार मूल्य घटेकाले किसानको कुल आम्दानी गत वर्षको तुलनामा कम भएको देखिएको छ।




