spot_img

बारामा लागुऔषधविरुद्ध सप्ताहव्यापी जनचेतना अभियान सम्पन्न

spot_img
spot_img

बीरगन्ज,१२ असार । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६” को अवसरमा बारा जिल्लामा सञ्चालन गरिएको सप्ताहव्यापी जनचेतनामूलक अभियान शुक्रबार सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण मुख्यालय बाराको समन्वय तथा सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको संयोजकत्वमा आयोजित कार्यक्रमअन्तर्गत बिहान कलैया बजार क्षेत्रमा प्रभातफेरी निकालिएको थियो। प्रभातफेरीमार्फत लागुऔषधविरुद्ध जनचेतना फैलाइएको थियो।

समापन कार्यक्रममा जिल्ला प्रशासन कार्यालयको सभाहलमा लागुऔषध दुरुपयोग नियन्त्रण, रोकथाम तथा जनचेतना अभिवृद्धिसम्बन्धी अन्तरक्रिया र सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिल्वाल, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका प्रमुख उपअनुसन्धान निर्देशक सरोज निरौला, प्रहरी नायब उपरीक्षक मिनबहादुर घले, शिक्षक, विद्यार्थी, बाल क्लब, बाल सञ्जालका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिसहित करिब १५० जनाको सहभागिता रहेको थियो।

वक्ताहरूले लागुऔषध नियन्त्रण केवल सुरक्षा निकायको प्रयासले मात्र सम्भव नहुने भन्दै समुदाय, परिवार, शैक्षिक संस्था र नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले युवापुस्तालाई लागुऔषधको जोखिमबाट जोगाउन निरन्तर जनचेतना, परामर्श र रोकथाममुखी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए।

आयोजकका अनुसार सप्ताहभर सञ्चालन गरिएका विभिन्न कार्यक्रममार्फत समुदायमा लागुऔषधविरुद्ध सकारात्मक सन्देश प्रवाह गरिएको र शुक्रबारको समापनसँगै अभियान औपचारिक रूपमा सम्पन्न भएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय