spot_img

पर्सामा सशस्त्र प्रहरीको व्यापक कारबाही हुँदा १२ लाखभन्दा बढीका अवैध सामान बरामद

spot_img
spot_img

वीरगन्ज,१२ असार । पर्साका विभिन्न सीमा नाकामा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको विशेष निगरानी तथा छापामार कारबाहीका क्रममा १२ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरिएको छ। कारबाहीका क्रममा एक जनालाई पक्राउ गर्नुका साथै बरामद सबै सामान आवश्यक कानुनी प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१६ छपकैया क्षेत्रमा बिओपी सिर्सियाबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी ई–रिक्सामा ल्याइँदै गरेको करिब ५ लाख ९ हजार ८२० रुपैयाँ बराबरको कपडा र ई–रिक्सा नियन्त्रणमा लिएको हो।

त्यसैगरी, एन्जी गेट सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको ई–रिक्सा, टाँगामा लोड गरिएको स्याउ, टाँगा र घोडासहित करिब ५ लाख ८० हजार ९ सय रुपैयाँ बराबरका सामान बरामद गरेको जनाएको छ।

यस्तै, बिन्दवासिनी गाउँपालिका–४ मधवल सीमा क्षेत्रमा बिओपी प्रसौनीभट्टाको टोलीले अवैध रूपमा स्याउ भारततर्फ लैजाँदै गरेका भारतका २३ वर्षीय अश्लाम आलमलाई १६ हजार ३५० रुपैयाँ बराबरको स्याउसहित पक्राउ गरेको छ। उनलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको छ।

यसैबीच, सीमा सुरक्षा गुल्म भीखमपुर तथा नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएका टोलीहरूले जगरनाथपुर गाउँपालिका–२ दसौता सीमा क्षेत्र र वीरगञ्ज बसपार्कबाट ८६ हजार ९ सय रुपैयाँ बराबरका प्रिन्टर, कपडा र मदिरा बरामद गरेका छन्।

यसअघि असार १० गते मितेरी पुल क्षेत्रमा गरिएको कारबाहीमा ई–रिक्सा, स्याउ र टेन्टको कपडासहित ४ लाख ८ हजार ५ सय रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको थियो।

यस्तै, विशेष सूचनाका आधारमा असार ११ गते सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा ५९ सदस्यीय टोलीले वीरगञ्ज महानगरपालिका–१ सुकुम्बासी टोलस्थित दुई घरमा छापामारी गरेको थियो। छापामारीका क्रममा भन्सार छली गरी लुकाइराखिएको १ लाख ८२ हजार ७ सय रुपैयाँ बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार सीमा क्षेत्रमा हुने भन्सार छली, अवैध आयात–निर्यात तथा तस्करी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइएको छ। उनले यस्ता अवैध गतिविधिविरुद्ध आगामी दिनमा पनि कडाइका साथ अभियान जारी रहने बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय