बीरगनज,१२ असार । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले फरक–फरक स्थानबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।
पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–१ घर भई हाल बुढानिलकण्ठ बस्ने २३ वर्षीय सन्देश चौधरी, नवलपरासी पश्चिम देवचुली–५ का ५३ वर्षीय भगवतप्रसाद थारू, चितवन भरतपुर–४ घर भई हाल ललितपुर बस्ने ४० वर्षीया सरस्वती बारघरे तथा काठमाडौं–२९ का ३७ वर्षीय विकास दाहाल रहेका छन्।
प्रहरीका अनुसार सन्देश चौधरीले मकाउ पठाइदिने भन्दै ५ लाख रुपैयाँ, भगवतप्रसाद थारूले पोल्यान्ड पठाइदिने भन्दै २३ लाख रुपैयाँ, सरस्वती बारघरेले क्यानडा पठाइदिने भन्दै १६ लाख रुपैयाँ र विकास दाहालले क्यानडा पठाइदिने आश्वासन दिएर ३ लाख ९२ हजार रुपैयाँ ठगी गरेका थिए। रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।
उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले सन्देश र भगवतप्रसादलाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट तथा सरस्वती र विकासलाई बिहीबार क्रमशः ललितपुर र काठमाडौंबाट पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका चारै जनामाथि वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा थप अनुसन्धान भइरहेको जनाएको छ।




