spot_img

फागुन २१ को निर्वाचन निष्पक्ष नभएको प्रचण्डको दाबी

spot_img
spot_img

विराटनगर,१२ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले फागुन २१ मा भएको निर्वाचन निष्पक्ष र स्वाभाविक ढंगले नभएको दाबी गरेका छन्। उनले विशेषगरी तराई–मधेसमा योजनाबद्ध रूपमा चुनावी चलखेल भएको आरोप लगाएका छन्।

शुक्रबार विराटनगरमा आयोजित नेकपाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले निर्वाचनको परिणामले नै अनियमितताको संकेत गरेको बताए। ‘चिन्दै नचिनेका व्यक्तिहरू विजयी हुने र स्थापित उम्मेदवारहरू पराजित हुने अवस्था सामान्य होइन,’ उनले भने, ‘निर्वाचनमा विभिन्न शक्तिको प्रभाव परेको देखिन्छ, त्यसका वास्तविक पक्षहरू क्रमशः सार्वजनिक हुँदै जानेछन्।’

प्रचण्डले मुलुकमा कम्युनिस्ट शक्तिहरूबीच पुनः सहकार्य र एकताको प्रक्रिया अघि बढिरहेको पनि बताए। उनका अनुसार नेकपा र नेकपा एमालेबीच संसद्, सडक र स्थानीय तहमा सहकार्यका विषयमा छलफल भइरहेको छ। यद्यपि तत्काल पार्टी एकता हुने अवस्था भने नरहेको उनले स्पष्ट पारे।

‘वामपन्थी शक्तिहरूबीचको सहकार्यले मात्रै मुलुकमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न सक्छ,’ उनले भने, ‘देशको नेतृत्व फेरि पनि कम्युनिस्ट शक्तिले गर्न सक्ने आधार निर्माण भइरहेको छ।’

उनले असाधारण राजनीतिक परिस्थितिपछि विभिन्न वामपन्थी शक्तिहरू एक ठाउँमा आउन थालेको उल्लेख गर्दै १० वाम घटकको सहभागितामा नेकपा गठन गरिएको स्मरण गरे। यसले आम नागरिकमा नयाँ आशा जगाएको उनको भनाइ थियो।

प्रचण्डले नेपालमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभामार्फत प्राप्त भएका उपलब्धिप्रति केही अन्तर्राष्ट्रिय शक्ति असन्तुष्ट रहेको दाबी पनि गरे। संघीयता, धर्मनिरपेक्षता र समावेशी व्यवस्थाविरुद्ध दीर्घकालीन रणनीति बनाइएको उल्लेख गर्दै उनले कम्युनिस्ट आन्दोलनले रणनीतिक रूपमा कमजोरी गरेको स्वीकार गरे।

‘हामी रणनीतिक प्रश्नभन्दा कार्यनीतिक विषयमै बढी केन्द्रित भयौं, जसका कारण आजको अवस्था सिर्जना भयो,’ उनले भने, ‘अब विचार, नीति र रणनीतिलाई थप सुदृढ बनाउँदै अघि बढ्नुपर्छ।’

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय