वीरगञ्ज, १२ असार – पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीमा शनिबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। नेपाल पासवान संघ, पर्सा र राष्ट्रिय दलित पत्रकार संघ, पर्साको संयुक्त आयोजनामा तथा तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको प्राविधिक सहयोगमा स्थानीय समाजसेवी शम्भु पासवानको निवास परिसरमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा दलित, मुस्लिम तथा अन्य समुदायका गरी १६० जनाले आँखा परीक्षण गराएका थिए। परीक्षणका क्रममा ३५ जनामा मोतियाबिन्दु (क्याटर्याक्ट) समस्या पहिचान भएको शिविरमा संलग्न चिकित्सक डा. प्रभात चौरसियाले जानकारी दिनुभयो।
उहाँका अनुसार मोतियाबिन्दु देखिएका सबै बिरामीको भोलि शनिबार वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ।
ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरबाट स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
शिविरमा राष्ट्रिय दलित पत्रकार संघका सल्लाहकार बृजलाल पासवान, नेपाल पासवान संघका नेता जयकुमार पासवान लगायत स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।




