काठमाडौं,१३ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा लागुऔषध दुव्र्यसनको समस्या आफूले अनुमान गरेभन्दा धेरै गम्भीर अवस्थामा पुगेको भन्दै यसको समाधानका लागि सरकार, राजनीतिक दल, समुदाय र परिवारबीच समन्वित प्रयास आवश्यक रहेको बताएका छन्।
शुक्रबार आयोजित ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तरक्रिया’ कार्यक्रममा बोल्दै थापाले केही वर्षअघि हुलाकी राजमार्गको यात्रा गर्दा झापादेखि कञ्चनपुरसम्म लागुऔषधको समस्या व्यापक रूपमा फैलिएको प्रत्यक्ष अनुभव गरेको बताए।
उनले काठमाडौंमा बसेर अनुमान गरेभन्दा वास्तविक अवस्था निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसयता पार्टी र संसद्मा यो विषयलाई निरन्तर उठाउँदै आएको बताए।
थापाले लागुऔषध नियन्त्रणलाई केवल प्रहरी कारबाहीमा सीमित राख्न नहुने धारणा राख्दै रोकथाम, पुनःस्थापना, जनचेतना, कानुनी सुधार र सम्बन्धित निकायको क्षमता अभिवृद्धिलाई समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनका अनुसार लागुऔषध प्रयोगकर्तालाई अपराधीको रूपमा मात्र नभई उपचार र पुनःस्थापनाको आवश्यकता भएका व्यक्तिका रूपमा पनि हेर्नुपर्ने समय आएको छ। साथै लामो समयदेखि संसद्मा विचाराधीन लागुऔषधसम्बन्धी विधेयकलाई छिटो अघि बढाउन आवश्यक रहेको उनले बताए।
थापाले संघीय संरचनाअनुसार प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट हुने कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै विद्यालय र समुदायस्तरबाटै युवामा सचेतना फैलाउनुपर्नेमा जोड दिए। विद्यालयमा इको क्लबजस्तै लागुऔषधविरुद्ध सचेतनामूलक समूह गठन गर्न सकिने उनको सुझाव थियो।
उनले लागुऔषधको समस्या राष्ट्रिय चुनौती बनिसकेको भन्दै यसको समाधान कुनै एक संस्था वा परिवारबाट मात्र सम्भव नहुने बताए। राजनीतिक दल, राज्यका निकाय, समुदाय र नागरिक सबैले आ–आफ्नो तहबाट जिम्मेवारी निर्वाह गरे मात्र यसको प्रभावकारी नियन्त्रण सम्भव हुने उनको भनाइ थियो।




