बीरगन्ज,१३ असार । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा मधेस प्रदेशमा ७ हजार ३१७ सवारी दुर्घटना हुँदा ४८५ जनाले ज्यान गुमाएका छन् भने १० हजार ९५७ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मृतक र घाइतेको सङ्ख्यामा कमी आए पनि दुर्घटनाको अवस्था अझै चिन्ताजनक रहेको छ।
कार्यालयका प्रवक्ता डीएसपी नवराज न्यौपानेका अनुसार अधिकांश दुर्घटना मानवीय लापरबाही का कारण हुने गरेका छन्। उनका अनुसार चालक, यात्रु र सर्वसाधारणमा ट्राफिक सचेतना बढाउने, नियमको कडाइका साथ कार्यान्वयन गर्ने तथा नियमित अनुगमनलाई प्रभावकारी बनाइएकाले मृतक र घाइतेको सङ्ख्यामा केही कमी आएको हो।
तथ्याङ्कअनुसार, जेठ मसान्तसम्म भएका ७ हजार ३१७ दुर्घटनामध्ये ७ हजार २०० दुर्घटना मानवीय त्रुटिका कारण भएका हुन्। गत आर्थिक वर्षभर मधेस प्रदेशमा ७ हजार ४४३ सवारी दुर्घटना हुँदा ५६४ जनाको मृत्यु र १२ हजार १२३ जना घाइते भएका थिए। तुलनात्मक रूपमा चालु आर्थिक वर्षको ११ महिनामा मृत्यु हुनेको सङ्ख्या ३२ र घाइते हुनेको सङ्ख्या १५५ ले घटेको देखिएको छ।
यसैबीच, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाहीबाट पनि उल्लेख्य राजस्व सङ्कलन भएको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ लाख ८५९ सवारीसाधन कारबाहीमा पर्दा १० करोड १३ लाख १८ हजार १५९ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। साथै, यातायात व्यवस्था कार्यालयमार्फत ६३३ सवारीसाधन माथि कारबाही गर्दा थप १ करोड १२ लाख ४६ हजार ५९९ रुपैयाँ राजस्व उठेको छ।




