सप्तरी,१३ असार । सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही गाउँपालिकाका ३२ वर्षीय सुभाषकुमार पासमान र २२ वर्षीय धर्मेन्द्र सिंह रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रहरी चौकी बेल्हीबाट खटिएको टोलीले टिकुलिया–बेल्ही सडकखण्डस्थित बाँसको मचानमा शङ्कास्पद अवस्थामा बसेका उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
शरीर खानतलासीका क्रममा सुभाषकुमार पासमानको साथबाट ‘८ एमएम’ लेखिएको दुई राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई खरखजानासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।




